भरुवा बन्दुक र चोरीका सामानसहित तीन युवक पक्राउ

आइतबार, साउन २७, २०८१
Honor 600 pro

बनियानी । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः ३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति १०ः३० बजे उनीहरुलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।

प्रहरीले उनीहरुका साथबाट चोरीको समान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आदित्य लिम्बूका साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको रु ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको रु ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।

प्रहरीले चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत किराना पसलबाट बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रासस।

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्