सरकारका मुख्यसचिव अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

आइतबार, असार ९, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मुख्यसचिवसहित ९ जनालाई सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा आज दिउँसो भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Honor x7 pad

अख्तियारले  जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्याल सञ्चार सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न रहेको अख्तियारले निष्कर्ष निकालेको छ।

मुद्दा दायर भएकाहरुमा मुख्यसचिव अर्यालसहित, अर्थ सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे,  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् । पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । 

यस्तै आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा  अधिकृत विष्णु प्रसाद गौतमलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । यस्तै सरकारी कर्मचारीहरू हरि वल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ । 

यसबाहेक अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल र त्यसका निर्देशक  केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले इतिहासकै पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्