अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्छ:गगन थापा

शनिबार, जेठ २६, २०८१
honor mob  winter sales

काठमाडौं ।   नेपाली कांग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्ने  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-३ वडा कार्यसमितिले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् । 

Honor x7 pad

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन् । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।     

 “कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन”, उनले भने ।

 महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे । 

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए । उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनले जानकारी दिए ।

कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले काठमाडौँका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए । “सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने ।

नेता पौडेलले गिरीबन्धु टि–स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताए । गिरीबन्धु टि–स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उनले बताए । 

नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाएमात्र सबै क्षेत्रमा कांग्रेसले जीत हासिल गर्नसक्ने बताए ।

नेपाली कांग्रेस काठमाडौँका उपसभापति गोकर्ण केसीले कांग्रेसले अहिलेसम्म देशको विकासका लागि गरेको राम्रा काम जनतामाझ लैजानुपर्ने बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ की सचिव पञ्चकुमारी श्रेष्ठले जनताका समस्या समाधानका लागि कांग्रेस लाग्नुपर्ने बताइन् ।

कांग्रेस काठमाडौँ महानगरपालिका–३ का सभापति विसम केसीले नेपाली कांग्रेसलाई बलियो बनाउन मतदाताका घरघरमा पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्