तराईमा अत्याधिक गर्मीले जनजीवन कष्टकर, अझै ३ दिनसम्म तातो हावाको लहर

बुधबार, जेठ १६, २०८१
Honor 600 pro

काठमाडौं । तराई अत्याधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएका बेलामा अझै आगामी ३ दिनसम्म तातो हावाको लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अत्याधिक गर्मी हुने हुँदा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि ३ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको हो । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ । साथै महाशाखाले सबैमा आग्रह गर्दै गर्मीबाट बच्न सतर्कता अपनाउन बताएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्