काठमाडौंको मनमैजुमा प्रहरी जवानको शव भेटियो, घटना शंकास्पद

स्थानीय भन्छन्-अवाञ्छित गतिविधि हुने स्थानमा किन आए ट्राफिक प्रहरी ?
शनिबार, जेठ ५, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंमा एक जना प्रहरी जवान निर्माणाधीन घरको भुइँ तलामा मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरे काठमाडौंको तार्केश्वर नगरपालिका-९ मनमैजुको हरियोचौरमा निर्माणाधीन दुई तले घरको भुइँ तलामा शुक्रबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ।

खोटाङ मजुवागढी गाउँपालिका-१ घर भएर दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शंकास्पद रुपले बोराले छोपिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले मृतक जवानको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको हुँदा घटना शंकास्पद भएको बताएको छ।

स्थानीयहरुले बन्दै गरेको उक्त घरको भुइँ तलामा अवाञ्छित गतिविधि हुँदै आइरहेको बताए। उनीहरुका अनुसार त्यहा धेरैजसो युवायुवती आएर अवाञ्छित गतिविधि गर्दै आएका थिए। त्यस्तो स्थानमा ट्राफिक प्रहरी जवान किन आए भन्नेले प्रश्न खडा गरेको छ।

उक्त स्थानमा हुने अवाञ्छित गतिविधिका बारेमा स्थानीयहरुले पहिला पनि प्रहरीलाई खबर गर्ने गरेको र प्रहरी आउँदा त्यहा आउने युवायुवती पहिलानै कुलेलम ठोक्ने गरेको स्थानीयहरु बताउँछन् ।

यता प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्