सभामुखले आज शीर्ष नेताहरुसँग छलफल गर्दै

मंगलबार, वैशाख २५, २०८१
Honor 600 pro

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुसँग आज छलफल गर्दैछन। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग छलफल गर्न आज विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।

संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री  ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरु हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन्  ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्