मुलुकको अवस्था फेर्न दुई ठूला शक्ति मिल्नुको विकल्प छैन: शेखर कोइराला

शनिबार, वैशाख २२, २०८१
honor २२ sept

प्रियास्मृति ढकाल/ कोहलपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बताएका छन्। नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा ‘क’ र ‘ख’ को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै उनले सरकार फेरवदलका कारण देश अत्यन्तै अफ्ठयारो अवस्थामा रहेको बताएका हुन् ।

X7D

‘डेढ वर्षको अवधिमा तीन पटक सरकार परिवर्तन भइसक्यो, तीनै पटक सरकारको नेतृत्व गर्ने व्यक्ति प्रचण्ड भए उनले भने–‘यही अवस्था रहिरहयो भने पाँच वर्षमा पाँच सात वटा सरकार बन्ने अवस्था देखिन्छ । यसले देशलाई कहाँ पुर्याउँछ ?’ उनले सरकार वदिएसँगै नीति समेत फेरिने भएकाले मुलुकको अवस्था संकटपूर्ण बन्दै गएको बताए ।

‘सरकार फेरवदल हुनु अस्वभाविक होइन उनले भने–‘नेपालमा सरकार फेरिएसँगै नीति पनि फेरिने अवस्था बनिरहेको छ । यसले मुलुकमा सुशासन र सम्बृद्धि कायम गर्न सक्दैन् ।’ उनले राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको उल्लेख गरे । हालै सम्पन्न लगानी सम्मेलनबाट विदेशीहरु नेपालमा लगानी गर्न खोजिरहेपनि राजनीतिक अस्थिरताका कारण ढुक्क भएर लगानी गर्ने बातावरण नभएको उनको भनाइ छ । उनले मुलुकको यो अवस्था फेर्नका लागि दुई ठूला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए ।

‘यो कठिन छ तर विकल्प छैन उनले भने–‘मुलुकलाई सधैं अस्थिर बनाइराख्ने हो भने कसरी सम्बृद्ध हुन सक्छ ?’ अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा उनको जोड थियो । ‘अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि वहुमत पुग्ने अवस्था रहदैन जवसम्म वहुमत पुग्दैन सरकार बनाउन असम्भव छ उनले भने–‘काँग्रेस र एमाले मिल्ने हो भने करिव दुई तिहाइ पुग्छ र निर्वाचन प्रणाली फेर्न सकिन्छ । त्यसका लागि पनि दुई शक्ति एक हुन जरुरी छ ।’ उनले सरकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको विषयलाई पनि कार्यक्रममा उठाएका थिए ।

उनले गृहमन्त्री लामिछानेको काँग्रेसले राजिनामा नमागेको बताए । जनताहरुले नै सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको बताइरहेकाले काँग्रेस त्यही कुरा संसदमा उठाएको बताए । उनले गृहमन्त्रीको राजिनामा नमागेर काँग्रेसले उनमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गर्दै आएको बताए । उनले संसदमा यो विषय प्रवेश पाइसकेकाले संसदीय छानविन समिति नबनेसम्म काँग्रेसले आफ्नो अडानबाट पछि नहट्ने पनि प्रष्ट्याए । उनले पार्टीभित्रको आन्तरिक विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले अवका चुनावमा गठबन्धन नहुने भएकाले एक ढिक्का हुन काँग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न निर्देशन दिए ।

उपनिर्वाचनको चुनावमा भएको पराजयले काँग्रेसलाई थप बलिएको बनाएको स्मरण गर्दै वरिष्ठ नेता डा. कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनु पर्ने बताए । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वभाविक भएपनि आमनिर्वाचनमा टिकट जस्ले पाएपनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका डा. कोइरालाले पार्टीलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

यस्तै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि काँग्रेस बाहेक अरु पार्टीको कल्पना गर्न नसकिने बताए । मुलुकका हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको राठोरले स्मरण गरे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको समेत बताए । उनले पार्टीमा त्यागको संस्कार सिक्न पनि कार्यकर्ताहरुलाई सुझाव दिए ।

यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसलाई बलियो बनाउन संगठनका गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने बताए । उनले भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुख व्यक्त गरेका छन् । पार्टीमा अनुशासन आवश्यक रहेकोमा पनि उनले जोड दिए । काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराव व्यक्तिहरुलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले मुलुकको विकासका लागि काँग्रेसको नेतृत्व बाहेक अरु पार्टी असफल भएको बताए । काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरु सञ्जय गौतम, गोपाल दहित, मधु आचार्यलगायतले पनि आआफ्नो धारणा राखेका थिए । आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरिएको उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्