'सिंहदरबार छिर्ने बित्तिकै आफूलाई मालिक सोच्नेहरु धेरै छन्'

बुधबार, वैशाख १९, २०८१
honor mob  winter sales

काठमाडौं । देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन्। 

Honor x7 pad

१३५ औँ श्रमिक दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् । 

गुरुङले  गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्ने बताए । गैरकानूनी ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरुलाई कान समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए । गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोहीपनि मालिक नहुने बताए ।

उनले भने – ‘ हामी भ्रममा छौँ, सिंहदरबार पुगेपछि हामी आफैँले चलाइरहेका हुन्छौँ । श्रमिकको पसिना बिना सिंहदरबार चल्दैन । अरु ७ वटा सिंहदरबार पनि चल्दैनन् । अरु ७५३ वटा उपसिंहदरबार पनि बनाएका छौँ त्यो पनि चल्दैनन् । मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरबार चल्दैन भन्ने मान्यता बनाएर अगाडी बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ ।"

उपसभापति गुरुङले थपे- "सिंहदरबार छिरेपछि मालिक हो कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ । वास्तवमा हामी कोही मालिक होइनौँ । प्रधानमन्त्री, मन्त्री, सांसद भएपनि वा सचिवहरु, मुख्यसचिव जो–जो, जे–जे भएपनि हामी सबै श्रमिक नै हौँ । देशको श्रमिक हौँ । जनताको श्रमिक हौँ । जनताको भरिया हौँ भन्ने कुरा नेताहरुले नबुझिदिदाँ पनि जनताले दुःख पाएका छन् । श्रमिक र मजदुरले दुःख पाएका छन् । यो खास कुरा नबुझ्दाखेरी नै सुशासन कायम गर्न सकिरहेका छैनौँ ।"

देशमा भइरहेको गैरकानूनी कारोबारजति सबै बन्द गरेर गैरकानूनी ढोकाहरु सबै बन्द गरे मात्र देश ठिक ढंगले चल्ने उपसभापति गुरुङले भने।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्