कहिलेसम्म रवि लामिछानेलाई चोख्याइराख्ने हो प्रचण्ड र केपी कमरेड?: शिवाकोटी

मंगलबार, वैशाख ४, २०८१
honor mob  winter sales

काठमाडौं ।  सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ठगी प्रकरणमा कहिलेसम्म चोख्याउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सह   प्रश्न गरेका छन् । 

Honor x7 pad

केन्द्रीय सदस्य शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईको नेतृत्वमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानूनी रूपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भए पनि उनीमाथि मुद्धा चलाउन सरकारी निकायले खुट्टा कमाएको छ।’

उनले अगाडि लेखेका छन्, ‘रुपन्देही जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा  ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालीको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको उल्लेख छ ।’

उनले मिसिलमै रविले सहकारीबाट गैरकानूनी रूपमा रकम लगेका प्रमाणहरू उल्लेख हुँदासमेत प्रचण्ड, ओली र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले सुनपानी छरेर चोख्याउएको आरोपसमेत लगाएका छन् । 

नेता शिवाकोटीले लेखेका छन्, ‘अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रूपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र प्रहरी प्रमुखले नै सुनपानी छरेर चोख्याएपछि मातहतको प्रहरी र सरकारी वकिलको कार्यालयले लामिछानेलाई अभियुक्त बनाउने आँट त गरेन सामान्य सोधपुछ गर्नसमेत खुट्टा कमाएको छ।’

यस्तो गम्भीर विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा छानबिन समिति बनाउन माग गर्दै आए पनि संसदको अधिवेशन नै स्थगित गरेर रविलाई काँधमा बोकिएको भन्दै शिवाकोटीले कहिलेसम्म सुनपानीले चोख्याइराख्ने हो भन्दै प्रचण्ड र ओलीलाई प्रश्न गरेका छन् । 

उनले अन्तिममा लेखेका छन्, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा निरन्तर छानबिनको माग उठाए पनि संसदको अधिवेशनसमेत स्थगित गराएर जुरुक्कै काँधमा बोकेर हिँडेका रविलाई कहिलेसम्म सुनपानीले चोख्याइराख्ने हो प्रचण्ड र केपी कमरेड ?’

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्