लुम्बिनीको मुख्यमन्त्री बन्ने तयारीमा जुटे महरा

मंगलबार, चैत २०, २०८०
Honor 600 pro

भालुबाङ( दाङ )। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका  जोखबहादुर महरालाई बनाउन सत्ता साझेदार दलहरु सहमत भएका छन् ।

दलहरुका बीचमा पहिलो दुई बर्ष माओबादीले सरकारको नेतृत्व गर्ने र त्यसपछिका दुई बर्ष नेकपा एमालेलाई नेतृत्व गर्ने सहझदारी बनेको हो ।

रोल्पाबाट प्रतिनिधित्व गर्ने महरा यसअघि एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री छँदा करिब तीन महिना जति अर्थमन्त्री बनेका थिए ।

२०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्री बनेका थिए । माओबादी र एमालेको गठबन्धन भत्किएपछि बनेको नयाँ समिकरण अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए ।

दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादीले फागुन २३ गते फिर्ता लिएको थियो। अब यही चैत २२ गतेसम्म चौधरीले फेरि विश्वासको मत लिनु पर्ने छ ।

चौधरीले विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुने छ ।माओबादीका महराले सोही अनुरुप आँफुले तयारी थालेको जानकारी दिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्