'सबै मिल्दा पनि विचलित नभएर कांग्रेस लाग्छ': गगन थापा

शनिबार, चैत १७, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताएका छन् । 

Honor x7 pad

समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको अगैयामा आज आयोजित संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुम्दै गएको आत्मविश्वास जागृत गर्ने गरी काम गर्नुपर्ने बेला आएको बताए । "पार्टीका कार्यकर्तामा ठूलो निराशा छ, आत्मविश्वास गुमाएको अवस्था छ, अब हामी विश्वास जगाउने गरी अगाडि बढौं, केही हुँदैन भन्ने भाष्य बदलौं," महामन्त्री थापाले भने-"कांग्रेस अब एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन, सबै मिल्दा पनि विचलित नभएर लाग्छ, त्यसैले आत्मविश्वास जगाएर अगाडि बढ्नुस्, संगठनमा काम गर्नुस् ।"

महामन्त्री थापाले कम्युनिष्टहरु मिल्ने डर र सरकारमा जाने रहरले यसअघि गठबन्धनमा गएको मनोविज्ञान चित्रण गर्दै अब उप्रान्त गठबन्धन नगरिने स्पष्ट पारे। "गठबन्धन गरेर हामीले हाम्रा मतदाताको अविचलित आस्थालाई विकृत बनाएका छौं, जहाँबाट कमजोरी भयो अब त्यहीँबाट सच्चिएर हिंड्नुपर्छ," उनले भने-"नेपाली कांग्रेस अब आफ्नो पवित्रता, मौलिकता र पहिचान बोकेर एक्लै चुनाव लड्छ ।"

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न संवाद कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । 

महामन्त्री थापाले त्यस अघि सिक्टा सिंचाई आयोजनाको अवलोकन गरेका थिए । अगैयास्थित हेडवर्क्सको उनले अवलोकन गरे । सिक्टाको कार्यप्रगति र समस्याबारे आयोजना प्रमुख देवराज निरौलाले जानकारी गराएका थिए।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्