अफिसियल बनेर मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

बुधबार, फागुन ३०, २०८०
honor mob  winter sales

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद ऐन विपरीत मलेसिया गएका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ।

Honor x7 pad

मलेसियामा मैत्रीपूर्ण फुटबल खेल खेल्न गएको नेपाली टोलीसँग एन्फाका उपाध्यक्षसहित १० जना कार्यसमितिका सदस्यहरु अफिसियल बनेर गएपछि  मन्त्रालयले आजै पत्र काट्दै उनीहरुलाई कारबाही गर्न निर्देशन दिएको हो।

मलेसियाविरुद्द हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीसँगै एन्फाले पदाधिकारीहरुलाई अफिसियल बनाएर पठाएको थियो। टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेससँगै प्रवेश कटुवाल, विनोद डंगोल, मनिष तिम्सिना, उत्तमराज भण्डारी , लोकेन्द्र कुँवर गएका हुन् ।

तर उनीहरु बाहेक एन्फा उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर गएका छन् । त्यस्तै एन्फाका सिईओ इन्द्रमान गुरुङ (अफिसियल), केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), एन्फा जिल्ला सदस्यहरु बुद्दिबहादुर गुरुङ , भरत घिमिरे, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठलाई अफिसियल र ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाइएर मलेसिया पठाइएको हो। उनीहरुलाई मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पत्राचार गरेर कारबाही गर्न निर्देशन दिएको हो।

राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राखेपको स्वीकृति नलिएर मात्रै अन्तर्राष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सोही आधारलाई टेकेर उनीहरुलाई कानुन बमोजिम कारबाही गरि मन्त्रालयमा जानकारी गराउन राखेपलाई निर्देशन दिइएको हो। साथै कानून बमोजिम राखेपको स्वीकृति पश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा सहभागी हुन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विश्वकप छनौट खेल अन्तर्गत बहराइनविरुद्द खेल्ने तयारीमा रहेको नेपालले चैत २ गते मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै केही दिनको तयारी पश्चात् चैत ८ र १३ गते बहाराइनसँग छनौट खेल खेल्नेछ। नेपालमा दशरथ रंगशालाको अवस्थामा नाजुक भएकाले १३ गरेको खेल नेपालले बहराइनमै खेल्ने भएको हो।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्