काठमाडौंमा जीपीएस जडित 'इ-क्यूआरटी' परिचालन

बिहीबार, फागुन २४, २०८०
honor mob  winter sales

काठमाडौँ । काठमाडौँ  उपत्यकामा  जीपीएस जडित क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी) परिचालन सुरुवात  गरिएको छ । उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि इ–क्यूआरटी परिचालन गरिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिएका छन् ।

Honor x7 pad

काठमाडौँ उपत्यकामा प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरिएको हो ।

प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। 

पहिलो चरणमा काठमाडौँ जिल्लाभरिका ६०  टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त-प्रभागबाट जिपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए।

टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६०  क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ ।

उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताए । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जिपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ । 

एआईजी  थापाले उक्त टोलीमार्फत अब काठमाडौँ उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताए । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिँदै आएको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्