विदेश जाने नेपालीलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन

आइतबार, असार ३१, २०८०
honor mob  winter sales

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई विमानस्थलबाटै फर्काएको विरोधमा आज अध्यागमन कार्यालय अगाडि प्रदर्शन गरिएको छ । 

Honor x7 pad

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले विरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण विरोध गर्नुपरेको बताए ।

उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनीसमेत दिए । 

उनले भने, ‘कुवेत, जोर्डन लगायतका देशमा नेपाली दाजुभाइ दिदीबहिनी गइरहनुभएको छ, उहाँहरुलाई बिना कारण अध्यागमनले फर्कायो, करिब १९० भन्दा बढीको संख्यामा फर्काइसक्नुभएको छ । त्यहाँ ठूलो रुपमा टिकट काटिएको, खर्च गरिएको हुन्छ, सबै प्रक्रिया पुर्‍याएर जाँदा अन्तिममा उहाँहरुलाई फर्काइन्छ, दुःख दिइन्छ, त्यसको विरुद्ध हामीले विरोध गरेका हौँ । बिना कारण दुःख दिइएकोमा हाम्रो विरोध हो । हामीले शान्तिपूर्ण आन्दोलन शुरु गरेका छौँ, यदि अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजगारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिक रुपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौँ । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नु पर्छ ।’

आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्