प्रहरी समायोजन १५ दिनभित्र टुङ्गाउन निर्देशन

बुधबार, माघ ३, २०८०
honor mob  winter sales

काठमाडौँ । प्रहरी समायोजन अब चाँडै टुंङ्गिने भएको छ। यो  प्रक्रिया चाँडै टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  निर्देशन दिएका छन् । 

Honor x7 pad

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले सो कार्य गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्य सञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रचण्डले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् ।

“सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्”, प्रचण्डले भने, “यसलाई नै बहाना बनाएर सङ्घीयता विरोधीले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस् ।”

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, सङ्घीय मन्त्री, सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्