नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुँदै

आइतबार, पुस १, २०८०
honor mob  winter sales

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सडक खण्ड यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो। 

Honor x7 pad

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो। 

सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ। 

उनले भने, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उनले जानकारी दिए ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन । 

उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उनका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । 

आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ ।

गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् ।

गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो । 

तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । 

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्