सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ भन्दा बढी सहयोग रकम पठाउने भएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्याब्सन बाँकेमा आबद्ध जिल्लाभरका विद्यालयबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागिएको हो ।
संकलित रकम प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका प्याब्सन आबद्ध विद्यालयहरूले स्वस्फूर्त रूपमा संकलन गरेको राहत रकम एकीकृत गरी केन्द्रमार्फत कोषमा पठाउन लागिएको हो ।
सहयोग रकमको औपचारिक घोषणा बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलनमार्फत गरिने भएको छ । प्याब्सन बाँकेका कोषाध्यक्ष प्रवीण गिरीका अनुसार बिहीबार दिउँसो २ बजे नेपालगञ्जस्थित सुनाखरी रेष्टुरेन्टमा पत्रकार सम्मेलन आयोजना गरी संकलित रकम सार्वजनिक गरिनेछ ।
बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको राहत तथा पुनःस्थापनामा आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरूलाई सहयोग संकलनका लागि आह्वान गरिएको प्याब्सन बाँकेले जनाएको छ ।
पत्रकार सम्मेलनमा सहयोग रकमको कुल विवरणसहित रकम संकलनमा सहभागी विद्यालय तथा सहयोगसम्बन्धी थप विवरण सार्वजनिक गरिने प्याब्सन बाँकेले जनाएको छ।