परासीमा करदाता शिक्षा कार्यक्रम, कर कानुनबारे व्यवसायीलाई जानकारी

बुधबार, भदौ ३, २०८३

रबिन्द्र यादव / परासी। नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको सहकार्यमा आर्थिक विधेयक, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर नीति, नियम तथा राजस्वसम्बन्धी विषयमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नवलपरासी उद्योग वाणिज्य संघको सचिवालय, परासीमा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवालालाई आर्थिक विधेयकमा भएका नयाँ व्यवस्था, करदाताका दायित्व तथा राजस्वसम्बन्धी प्रावधानबारे जानकारी दिइएको थियो।

संघका अध्यक्ष नगेन्द्र अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव प्रमुख अतिथि थिए। आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न सामाजिक तथा वस्तुगत संघ–संस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी तथा पेशागत व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा सहभागीहरूले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर विवरण तथा राजस्वसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना जिज्ञासा र समस्याहरू राखेका थिए। आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिले प्रश्नहरूको सम्बोधन गर्दै प्रचलित कर कानुन, नयाँ आर्थिक विधेयकका व्यवस्था तथा करदाताले पालना गर्नुपर्ने प्रक्रिया र दायित्वबारे स्पष्ट पारेका थिए।

कार्यक्रमबाट उद्योगी तथा व्यवसायीले करसम्बन्धी कानुनी व्यवस्था र पछिल्ला नीतिगत परिवर्तनबारे जानकारी प्राप्त गर्नुका साथै कर प्रशासन र व्यवसायीबीचको समन्वय थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्