नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने सरकारी कर्मचारीसहित ३२ जना पक्राउ

बुधबार, मंसिर २७, २०८०
honor mob  winter sales

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकृतसहित दर्जनौं सरकारी कर्मचारी र ट्राभल एजेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।

Honor x7 pad

अपराध अनुसन्धान कार्यालयले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा  गत असोज १९ गतेदेखि हालसम्म ३२ जनालाई  पक्राउ गरेको  जनाएको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । डिएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान अधिकृतहरूले सो प्रकरणको अनुसन्धान गरिरहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले आज आयोजित पत्रकार सम्मेलनमा गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

यो प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् ।

उनले ९ जनामाथि संगठित अपराधमा र १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि जानकारी दिए । ८ जना धरौटीमा छुटिसकेका छन् ।

प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीका अनुसार पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेलसमेत छन् ।

ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल पक्राउ परेका छन् । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्