नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनौट

शुक्रबार, कात्तिक १७, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाल विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानिएको हो । 

Honor x7 pad

नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले हराएको हो । मूलपानी क्रिकेट मैदानमा जितका लागि १३५ रनको सामान्य चुनौती नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । 

नेपालका लागि आसिफ शेखले ५० बलमा अविजित रहँदै ६३ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा अविजित रहँदै ३५ रन जोडे 

गुल्सन झाले २४ बलमा २२ रन तथा कुशल भुर्तेलले ११ रन बनाए ।

यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो । 

भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे । 

नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए । 

उत्कृष्ट फिल्डिङ गरेको नेपालले दुई खेलाडीलाई रनआउट गरेको थियो । 

नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको थियो । 

विश्वकप एक दिवसीयकोसमेत अनुभव बटुलिसकेको यूएई अझै पनि नेपालजस्तै एसोसिएट राष्ट्रमै रहेर संघर्ष गरिरहेको छ । 

नेपालको भन्दा धेरै अनुभव भएको भए पनि नेपालले यूएईलाई नै हराएर एक दिवसीय विश्वकपको सिधै छनोट चरणमा प्रवेश गरेको थियो । 

यूएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने यूएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो । 

आज फेरि यूएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न पाएको हो । 

नेपालले पहिलो पटक सन् २०१४ को बंगलादेश टी–२० विश्वकप खेलेको थियो भने एक दशकपछि सन् २०२४ को जुन ४ देखि ३० सम्म वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप खेल्न आतुर देखिएको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्