गोंगबु बसपार्कबाट २४ हजार बढीले लिए दसैंका लागि अग्रिम टिकट

मंगलबार, असोज २३, २०८०
honor २२ sept

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट २४ हजार ३४० यात्रुले दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन्।

X7D

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो।

पहिलो दिन सोमबारमात्र २४ हजार ३४० यात्रुले टिकट लिएको नयाँ बसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले जानकारी दिए।

सोमबार अग्रिम टिकट लिन आइतबार रातिदेखि नै यात्रुहरू नयाँ बसपार्कमा आएर लाइन लागेका थिए।

नयाँ बसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन्।

सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ।

नयाँ बसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरूको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए।

उनले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए।

यस्तै विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो। प्रहरीले चाडबाडमा बढी भीडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ। रासस।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्