Dashain Banner
Dashain Banner

एसियाली खेलकुद: टी-२० क्रिकेटमा माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

आइतबार, असोज १४, २०८०

काठमाडौं।  चीनमा जारी एसियायी खेलकुद अन्तर्गत टी-२०  क्रिकेटमा नेपाल क्वाटरफाइनलमा पुगेको छ। नेपालले आज बिहान भएको खेलमा माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो।

बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोडेको हो।

२१३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको माल्दिभ्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन बनायो। माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बनाए। 

माल्दिभ्सविरुद्दको खेलमा अविनाश बोहराले  सर्वाधिक ६ विकेट लिए भने सन्दीप लामिछाने , सोमपाल कामी, गुल्सन झा र कुशल भुर्तेलले १-१ विकेट लिए।

त्यस्तै नेपालका लागी कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन जोडेका थिए।

समूह 'ए' को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको नेपालले अब भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग खेल्नेछ। 

नेपालले यसअघिको खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेको थियो। त्यस खेलमा नेपालले टी-२० क्रिकेट इतिहासमै सर्वाधिक ३१४ रन जोडेेर सबैभन्दा बढी रन अन्तरले पराजित गर्दै विश्व कृतिमान बनाएको हो।

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्