बाँकेको राप्तीसोनारीको कचनापुरमा पाटे बाघ मृत भेटियो

बुधबार, असोज १०, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ। राप्तीसोनारी-२ मदुईको कचनापुरमा रहेको अशोक सामुदायिक वनमा हिजो साँझ ७ बजेतिर  पाटे बाघ मृत भेटिएको डिभिजन वन कार्यालय बाँकेले जानकारी दिएको छ। 

Honor x7 pad

स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो । बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पुर्‍याएको बन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६, गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र आज भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो । 

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको पनि उनले बताए । 

“बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौँ”, उनले भने, “अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ। बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन ।” 

निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटे बाघको परीक्षण  आज गरिनेछ।रासस। 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्