जंगली जनावरको आक्रमणबाट चितवनमा ४ जनाको मृत्यु

शुक्रबार, असोज ५, २०८०
honor mob  winter sales

चितवन ।  चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ।

Honor x7 pad

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो। भरतपुर महानगरपालिका-२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका-१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका-६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै रत्ननगर नगरपालिका-५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए ।

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जानकारी दिए । यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२-७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन् । तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन् । 

यस्तै सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११, खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्