बाँकेको राप्तीसोनारीको भगरा गाउँमा लूटेराको समूहले गर्यो लूटपाट

सोमबार, असोज १, २०८०
honor २२ sept

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन्।

X7D

भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०-१२ जनाको समूहले धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए।

उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, दुई लाख ५० हजार नगद र दुई थान खसी लुटेर लगेको पीडित परिवारले बताएका छन्।

राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरू सजिलै भागेको पीडित धनबहादुरले बताए।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ। फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित वेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारूले बताए।

२०-३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाको जानकारी पाउनासाथ घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको बताए।

तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ। रासस 

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्