तीनकुने हत्या प्रकरण: चारै जनाको शव टिचिङ अस्पतालमा

शनिबार, भदौ ३०, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा भएको ४ जनाको हत्या घटनामा प्रहरी तीब्र रुपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

Honor x7 pad

काठमाडौं-३२ गैह्रीगाउँमा गएराति हत्या गरिएका ४ मध्ये ३ जना एकै परिवारका भएको खुलेको छ। 

गैह्रीगाउँस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा २ पुरुष र २ महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

हत्या भएकामा दोलखा घर भई हाल सोही काठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन्। 

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि प्रहरीले जानकारी दिएको छ । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ ।

उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ। अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण(टिचिङ) अस्पताल लगिएको प्रहरीले  जानकारी दिएको छ। 

घटनाको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।  उनी आफै प्रहरी कार्यालय गएको बताइएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्