अन्न जोगाउन मंगलसेनका किसान खेतमै रातभर जाग्राम

बुधबार, भदौ २७, २०८०
honor mob  winter sales

अछाम । अछामका कृषकहरु मकै बाली जोगाउन रातभर जाग्राम बस्छन्। पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन्।

Honor x7 pad

‘मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन,’ मंगलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुंगानाले भने।

किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन्।

दिनभरि बाँदर र रातभरि बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताए।

‘रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन,’ भण्डारीले भने। वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतङ्क नियन्त्रण गर्न नसकिएको उनी बताउँछन्।

बँदेल र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित छन्। जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन्।

बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ।

साउनयता हालसम्म जिल्लामा जङ्गली जनावरको आक्रमण बाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृतकका परिवारलाई १० लाख राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए।

उनका अनुसार जिल्लाका किसानको अन्नबाली जङ्गली जनावरले नोक्सान पुर्‍याएको भन्दै एक सय १८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरुलाई डिभिजन वन कार्यालयको मूल्याङ्कन समितिले क्षतिको मापन गरी कम्तीमा १० हजार आर्थिक राहत उपलब्ध गराउनेछ।

जिल्लामा जङ्गली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्यु भएको र किसानलाई राहतस्वरुप प्रतिबाख्रा तथा खसीको १० हजार एवं गाई, गोरु र भैँसीको रु ६० हजार रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ।

किसानहरुको अन्नबाली जङ्गली जनावरले सखाप पार्न थालेपछि पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन्।रासस।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्