पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु, भेरीमा पनि शुरु गरियो खोप

बुधबार, भदौ २७, २०८०
honor mob  winter sales

अनामिका गिरी/ नेपालगञ्ज । देशभर आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच.पि.भी.) लगाउन शुरु गरिएको छ।

Honor x7 pad

खोप कार्यक्रम अन्तर्गत नेपालगञ्जको भेरी अस्पतालमा आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच.पि.भी.) लगाउन शुरु गरिएको छ ।

आज विहान एक कार्यक्रमका बीच खोप कार्यक्रमको शुभारम्भ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक जना किशोरीलाई खोप कार्ड प्रदान गरेर खोप कार्यक्रमको सुरुवात गरेका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, मेडिकल सपरिटेण्डेण्ट डा.पवनजंग रायमाझी लगायत उपस्थित थिए । 

देशका सात प्रदेशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने कार्यक्रम बमोजिम लुम्बिनी प्रदेशको भेरी अस्पतालमा पनि खोप लगाउन शुरु गरिएको हो । आजदेखि भदौ ३० गतेसम्म खोपको पहिलो मात्रा दिइनेछ ।

पहिलो चरणमा भेरी अस्पतालबाट १२१५ जना किशोरीलाई खोप लगाइनेछ । त्यसका लागि भेरीमा २४३० भाइल खोप आएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एच.पि.भी. खोप दिने बताइए पनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको बताइएको । २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई मात्र खोप लगाइनेछ ।

एच.पि.भी. खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ ।

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एच.पि.भी. खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ ।

पाठेघरको मुखको क्यान्सर मुख्यत: संक्रमित व्यक्तिसंगको यौन सम्पर्कबाट सर्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्