नेपालगन्ज एयरर्पोटबाट २६ लाखसहित पक्राउ परेका कर अधिकृतलाई अख्तियारको जिम्मा लगाइयो

सोमबार, भदौ २५, २०८०
honor mob  winter sales

अनामिका गिरी/ नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले श्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका कर अधिकृत खगेन्द्र सापकोटालाई नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ।

Honor x7 pad

आज नेपालगन्ज एयरर्पोटबाट  रङ्गेहात २६ लाख रुपैयाँसहित पक्राउ परेका  आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जमा पठाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन्।

श्रोत नखुलेको रकम र कर अधिकृत भएकै कारण कतै भ्रष्टाचारकै रकम भएको हुन सक्ने भन्दै अख्तियारसँगको समन्वय पश्चात्  अधिकृत सापकोटाको अनुसन्धान गर्न अख्तियारलाई बुझाइएको डीएसपी डाँगीले बताए।

अब पक्राउ परेका सापकोटाको अनुसन्धान अख्तियारबाटै हुने प्रवक्ता डाँगीले भने। यता फरार रहेका अर्का आन्तरिक राजस्व कार्यालय तुलसीपुरका अधिकृत दीपक पौडेलको खोजीकार्य तिब्र पारिएको  बाँके प्रहरीले जनाएको छ। 

दीपक पौडेललाई पक्राउ गरेपनि अख्तियार कार्यालयमै पठाइने प्रहरीले बताएको  छ।

आज नेपालगन्ज एयरर्पोटबाट पौने ९ बजेको श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका कर अधिकृत सापकोटालाई एयरर्पोट सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रविन्द्र बमको टोलीले ब्यागमा राखेर लैजादै गरिएको श्रोत  नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ गरेको हो। 

सापकोटासँगै काठमाडौं यात्रा गर्न लागेका दीपक पौडेल बोर्डिङ पास नलिएका कारण एयरर्पोटबाट फरार भएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्