भेरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै

आइतबार, भदौ २४, २०८०
honor mob  winter sales

नेपालगन्ज । लुम्बिनी प्रदेशस्थित  भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदैछ । 

Honor x7 pad

देशका सात प्रदेशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा पनि खोप लगाउन लागिएको हो । भदौ २७ गतेदेखि ३० गतेसम्म खोपको पहिलो मात्रा दिइनेछ । 

स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर खोप कार्यक्रमबारे जानकारी गराएको हो । परिवार कल्याण महाशाखाका संजयकुमार महासेठले पहिलो चरणमा भेरी अस्पतालबाट १२१५ जना किशोरीलाई खोप लगाइने बताए । त्यसका लागि भेरीमा २४३० भाइल खोप आएको छ ।

१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एच.पि.भी. खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको महासेठले जानकारी दिए । २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई खोप लगाइनेछ ।

एच.पि.भी. खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ ।

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एच.पि.भी. खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पाठेघरको मुखको क्यान्सर मुख्यत: संक्रमित व्यक्तिसंगको यौन सम्पर्कबाट सर्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्