Tihar Banner
Tihar Banner

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा झण्डै ४ हजार दरबन्दी थप्ने तयारी गर्दै सरकार

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको जनशक्ति विस्तार गर्ने प्रक्रिया अघि बढेको छ। गृह मन्त्रालयले दुवै सुरक्षा निकायमा गरी ३ हजार ९६८ नयाँ दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ।

गृह मन्त्रालयको पछिल्लो तीन महिनाको प्रगति विवरणअनुसार नेपाल प्रहरीमा २ हजार १९४ र सशस्त्र प्रहरी बल नेपालमा १ हजार ७७४ दरबन्दी थप गर्न लागिएको हो।

नेपाल प्रहरीमा थप गर्न प्रस्ताव गरिएका दरबन्दीमध्ये जनपदतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० जना रहनेछन्। मन्त्रिपरिषद्को पूर्वस्वीकृतिमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले थप दरबन्दी सिर्जनाको प्रक्रिया अघि बढाएको हो।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न गठित समितिको सिफारिसअनुसार थप १ हजार ७७४ दरबन्दी सिर्जना गर्ने प्रस्ताव गरिएको छ। दुवै सुरक्षा निकायको प्रस्ताव आवश्यक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।

हाल नेपाल प्रहरीमा ७९ हजार ५४१ स्वीकृत दरबन्दी रहेको छ। प्रस्तावित दरबन्दी स्वीकृत भएमा प्रहरीको कुल स्वीकृत जनशक्ति ८१ हजार ७३५ पुग्नेछ। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालमा हाल ३७ हजार १५३ दरबन्दी रहेकामा प्रस्तावअनुसार थप भएमा कुल संख्या ३८ हजार ९२७ पुग्नेछ।

दुवै सुरक्षा निकायमा प्रस्तावित दरबन्दी स्वीकृत भएमा कुल स्वीकृत जनशक्ति १ लाख २० हजार ६६२ बाट बढेर १ लाख २४ हजार ६३० पुग्नेछ।

बदलिँदो सुरक्षा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा नागरिक सुरक्षामा थपिँदै गएको जिम्मेवारीलाई प्रभावकारी बनाउन सुरक्षा निकायको जनशक्ति र संगठनात्मक संरचना विस्तार गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। कार्यक्षेत्र विस्तार र जिम्मेवारी थपिँदै गएको अवस्थामा नयाँ दरबन्दी सिर्जना गर्ने प्रस्तावलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, गृह मन्त्रालयले अघि बढाएको प्रस्तावले अझै अन्तिम स्वीकृति पाउन बाँकी छ। अर्थ मन्त्रालयको सहमतिपछि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै प्रस्तावित दरबन्दी कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्