सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग जोडिएका विषय सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्रैबाट त्यसको छानबिन गर्ने निर्णय गरेको छ। सांसद सुनारबारे सञ्चारमाध्यममा आएका समाचार र श्रव्यसामग्रीलाई लिएर पार्टीले केन्द्रीय अनुशासन आयोगलाई अनुसन्धान अघि बढाउन भनेको हो। महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार, छानबिनको टुंगो नलागेसम्म सुनार सार्वजनिक पदको प्रतिनिधित्व गर्दै औपचारिक कार्यक्रममा सहभागी हुन पाउने छैनन्। अनुसन्धानमा असर नपरोस् भन्ने उद्देश्यले पार्टीले उनलाई यस्तो निर्देशन दिएको जनाएको छ। महिला सम्मानसँग सम्बन्धित विषय, दबाब दिने कार्य, धम्की तथा शंकास्पद आर्थिक कारोबारबारे उठेका प्रश्नलाई पार्टीले गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। यस्ता विषयमा कसैप्रति पनि नरम नीति नअपनाउने रास्वपाको भनाइ छ। सांसद सुनारसँग सम्बन्धित विषयमा राज्यका निकायबाट समेत अनुसन्धान भए त्यसमा सघाउने पार्टीले जनाएको छ। कानुनविपरीत वा पदीय जिम्मेवारीको मर्यादा नाघेर काम गर्ने व्यक्तिलाई राजनीतिक आड नदिने प्रतिबद्धता पनि रास्वपाले दोहोर्याएको छ।