Dashain Banner
Dashain Banner

पराजयपछि दीपक गिरीको प्रतिक्रिया: ‘परिणाम स्वीकार्छु, परिवर्तनको बाटो छोड्दिनँ’

सोमबार, असोज २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा पराजित भएपछि दीपक गिरीले पार्टी रूपान्तरणको आफ्नो अभियान निरन्तर जारी रहने बताएका छन।

निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टी बदल्ने आफ्नो प्रतिबद्धता कमजोर नभएको उल्लेख गर्दै गिरीले व्यक्तिगत परिणामभन्दा माथि पार्टी रूपान्तरणको उद्देश्य रहेको बताएका हुन् ।

‘परिणाम स्वीकार्छु, तर परिवर्तनको बाटो छोड्दिनँ । व्यक्तिगत परिणामभन्दा माथि छ कांग्रेस बदल्ने मेरो प्रतिबद्धता,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् ।

उनले आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि तथा निर्वाचन अभियानमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । समर्थकहरूको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बताउँदै उनले पार्टीलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउन निरन्तर लागिरहने बताएका छन् ।

निर्वाचनका क्रममा देखिएका भिन्नताहरूलाई बिर्सेर विचार, विधि र संगठनको सुदृढीकरणका लागि एकजुट हुनुपर्नेमा जोड दिँदै गिरीले अब निराश नभई अनुभवबाट सिकेर अघि बढ्ने समय आएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसलाई नयाँ सोच, स्वच्छ राजनीतिक संस्कार र जनताको अटुट विश्वाससहित अघि बढाउन आफ्नो प्रयास निरन्तर रहने उनको भनाइ छ ।उनले चारतारे झण्डा र रुखको छहारीमा पार्टीका साथीहरूसँग हातेमालो गर्दै संगठनलाई बलियो र जनउत्तरदायी बनाउने यात्रा जारी रहने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०७:२०
प्रतिक्रिया दिनुहोस्