मृतकको संख्या १४ सय ५४ पुग्यो, ४ हजार बढी अझै बेपत्ता

बुधबार, असोज १४, २०८३

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४५४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान ५ बजेसम्म प्राप्त अद्यावधिक विवरणअनुसार बाढी प्रभावित क्षेत्र तथा तटीय जिल्लाहरूबाट एक हजार ४५२ जनाको शव फेला परेको छ भने घाइते भएकामध्ये २ जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।

फेला परेका शवहरूमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना रहेका छन्। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायतका आवश्यक कानुनी तथा प्राविधिक प्रक्रियाहरू पूरा गरी हालसम्म एक हजार ३३४ वटा शवहरूको व्यवस्थापन (माटोमुनि सुरक्षित रूपमा राखिएको) गरिएको छ।

शव पहिचानका लागि मृतकका एक हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै, पहिचान हुन नसकेका एक हजार ४२१ वटा शवहरूको विस्तृत विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रहरूमा उद्धार, खोज, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यहरूलाई तीव्रता दिन हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएका छन्। बाढीका कारण हालसम्म बेपत्ता रहेका ४ हजार ७१८ जना नागरिकहरूको खोजी कार्य निरन्तर जारी रहेको छ।

यसैगरी, बाढीबाट प्रभावित भई विस्थापित बनेका विभिन्न जिल्लाका एक हजार २३४ जना व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा राखिएको छ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ०९:१८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह