भीषण वर्षाको पूर्वानुमानपछि वायुसेवा कम्पनीलाई सतर्क रहन निर्देशन

बुधबार, असोज ७, २०८३

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएपछि वायुसेवा सञ्चालक संघ नेपालले सदस्य वायुसेवा कम्पनीहरूलाई उडान सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर मौसम प्रतिकूल हुनसक्ने पूर्वानुमान गरेपछि संघले बुधबार परिपत्र जारी गर्दै सुरक्षित अवस्थामा मात्रै उडान सञ्चालन गर्न निर्देशन दिएको हो।

विभागका अनुसार उक्त अवधिमा विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन, हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही स्थानमा समेत चट्याङ, हावाहुरी र भारी वर्षा हुनसक्ने जनाइएको छ।

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित हुनसक्ने भएकाले उडानअघि मौसमको अवस्था यकिन गर्न तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न संघले सदस्य कम्पनीहरूलाई भनेको छ।

यस्तै, हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपातका कारण पर्वतारोहण र यात्रा जोखिमपूर्ण बन्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिमसमेत रहेकाले सम्भावित आपतकालीन अवस्थाका लागि उद्धार टोली तथा आवश्यक स्रोतसाधन तयारी अवस्थामा राख्न संघले अनुरोध गरेको छ।

संघका अध्यक्ष प्रतापजंग पाण्डेले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट नियमित रूपमा हेर्न र उडान सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गरिएको बताए।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह