सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर । शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेर उम्मेदवारबाट आवेदनसमेत लिएका नरैनापुर गाउँपालिकाअन्तर्गतका दुई विद्यालयले दुई महिना बितिसक्दा पनि परीक्षा सञ्चालन हुन सकेको छैन। परीक्षा हुन नसक्दा स्थानीयस्तरमा प्रश्नहरु उठ्न थालेका छन् । नरैनापुर-५ मोतिपुरस्थित श्री नमूना आधारभूत विद्यालयले गत असार १६ गते निम्न माद्यामिक तहका लागि एक जना शिक्षक र वडा नम्बर ५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय, मटेहियाले पनि असार १८ गते प्राथमिक तहका लागि एक शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेका थिए। विज्ञापनपछि आवेदन दिएका उम्मेदवारहरू परीक्षाको तयारीमा जुटे पनि लामो समय बितिसक्दा समेत परीक्षा सञ्चालनको मिति सार्वजनिक हुन सकेको छैन। परीक्षा कहिले हुन्छ भन्ने स्पष्ट जानकारी नहुँदा उम्मेदवारहरू अन्योलमा छन्। उनीहरूले परीक्षा हुने अपेक्षामा समय र खर्च गरेर तयारी गरिरहे पनि सम्बन्धित विद्यालयबाट परीक्षाको मिति तथा प्रक्रिया अघि बढ्नेबारे स्पष्ट सूचना नपाएको गुनासो गरेका छन्। विद्यालयमा शिक्षक आवश्यक भएकै कारण पदपूर्तिका लागि विज्ञापन गरिएको हो भने परीक्षा सञ्चालनमा यति लामो ढिलाइ हुनुको कारण के हो भन्ने प्रश्न उठेको छ। आवेदन लिइसकेपछि प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएको निकायले हालसम्म के–कस्तो तयारी गरेको छ भन्ने विषयमा पनि स्पष्टता आवश्यक देखिएको छ। तर, श्री नमूना आधारभूत विद्यालयका प्रधानाध्यापक कुलरत्न श्रीवस्तबले परीक्षा सञ्चालनमा भएको ढिलाइमा कुनै किसिमको मिलेमतो नरहेको स्पष्ट पारेका छन्। बाहिर चर्चा भएजस्तो कुनै मिलेमतो नभएको भन्दै उनले शिक्षा शाखा प्रमुखको सरुवा भएका कारण प्रक्रिया अघि बढाउन ढिलाइ भएको बताए। उनका अनुसार नयाँ शिक्षा शाखा प्रमुख आएपछि यस विषयमा जानकारी गराइसकिएको थियो। तर परीक्षा सञ्चालनको अन्तिम तयारी गर्न नपाउँदै कार्यालयको क्लोजिङ तथा बिदा परेकाले थप ढिलाइ भएको उनको भनाइ छ। प्रधानाध्यापक कुलरत्नले ढिलाइ भएको स्वीकार गरे पनि परीक्षा ढिला गराएर कुनै मिलेमतो गर्न खोजिएको भन्ने आरोप भने अस्वीकार गरेका छन्। उनले अब केही दिनभित्रै परीक्षा सञ्चालनको मिति जानकारी गराउने बताए। त्यस्तै, श्री महेन्द्र माध्यमिक विद्यालय, मटेहियामा पनि यस्तै प्रक्रियागत कारणले परीक्षा सञ्चालनमा ढिलाइ भएको बताइएको छ। यदि परीक्षा तत्काल सञ्चालन गर्न सक्ने अवस्था थिएन भने विज्ञापन किन गरियो भन्ने प्रश्नसमेत उठेको छ। विज्ञापन गरेर उम्मेदवारबाट आवेदन लिने तर त्यसपछि प्रक्रिया अघि नबढाउँदा उम्मेदवारको समय, श्रम र खर्च प्रभावित भएको स्थानीय तथा उम्मेदवारहरूको भनाइ छ। शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावित हुनसक्ने अवस्थामा शिक्षक पदपूर्ति प्रक्रिया नै अनिश्चित हुँदा यसको असर विद्यार्थीको शिक्षण सिकाइमा पर्न सक्ने देखिन्छ। त्यसैले सम्बन्धित विद्यालय प्रशासन र नरैनापुर गाउँपालिकाले परीक्षा सञ्चालनमा भएको ढिलाइको कारण, अहिलेसम्म अघि बढाइएको प्रक्रिया र परीक्षा सञ्चालन हुने स्पष्ट मिति सार्वजनिक गर्नुपर्ने माग उठेको छ। उम्मेदवार तथा स्थानीयले “विज्ञापन भएको दुई महिना बितिसक्यो, परीक्षा कहिले हुन्छ?” भन्दै सम्बन्धित निकायसँग जवाफ मागिरहेका छन्। विद्यालय प्रशासनले भने परीक्षा सञ्चालनमा भएको ढिलाइ स्वीकार गर्दै प्रक्रिया अब छिट्टै अघि बढाउने जनाएको छ। श्री नमूना आधारभूत विद्यालयका कुलरत्नले केही दिनभित्रै परीक्षाको मिति तय गरी उम्मेदवारलाई जानकारी गराउने बताए। शिक्षक पदपूर्ति भएपछि विद्यालयमा देखिएको शिक्षक अभावसमेत सम्बोधन हुने र पठनपाठनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ। उनले परीक्षा निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन हुनेसमेत स्पष्ट पारे। ढिलाइलाई लिएर उठेका आशंका स्वाभाविक भए पनि कुनै मिलेमतो नभएको भन्दै उनले विद्यालयको आवश्यकता र विद्यार्थीको हितलाई ध्यानमा राखेर शिक्षक पदपूर्ति प्रक्रिया छिटो टुंग्याउने प्रतिबद्धता जनाएका छन्।