Dashain Banner
Dashain Banner

भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब

बिहीबार, भदौ ११, २०८३

नेपालगन्ज । रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभात मेमोरियल हाई स्कुल नेपालगन्जले सहयोग गर्ने भएको छ।

विद्यालयले बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुगेको घटनाप्रति विद्यालयले दुःख व्यक्त गरेको छ। विद्यालयले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

त्यसैगरी, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयले प्रभावित परिवारको साथमा रहन तथा उद्धार र राहत कार्यमा सहयोग गर्न सबै सरोकारवाला निकाय, संघ–संस्था तथा नागरिकलाई आग्रह गरेको छ।

विद्यालयका प्रधानाध्यापक गौरव गिरीले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै विद्यालय परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ र उद्धार तथा खोजी कार्य जारी रहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १८:२०
प्रतिक्रिया दिनुहोस्