भोटेकोशी बाढीपीडितलाई नेपालगन्जस्थित प्रभात मेमोरियल हाई स्कुलको सहयोग

बिहीबार, भदौ २५, २०८३

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा जनधन गुमाएका परिवारप्रति ऐक्यबद्धता जनाउँदै नेपालगन्जस्थित प्रभात मेमोरियल हाई स्कुलले राहतस्वरूप ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । विद्यालयले आज उक्त रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

राहत रकम विद्यालयका प्रिन्सिपल गौरव गिरीले प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य र कोषाध्यक्ष प्रवीण गिरीलाई हस्तान्तरण गरेका हुन् ।विद्यालयका अनुसार उक्त रकममा शिक्षक तथा कर्मचारीको एक दिनको तलब, विद्यार्थीले गरेको सहयोग तथा विद्यालयको तर्फबाट गरिएको योगदान समावेश छ ।

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विद्यालयले विपद्को यस घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउन सहयोग गरिएको जनाएको छ ।

प्रिन्सिपल गौरव गिरीले विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु विद्यालयको पनि दायित्व भएको बताए । शिक्षक, कर्मचारी र विद्यार्थीको सामूहिक सहभागिताबाट सङ्कलित सहयोगले विपद्मा परेका नागरिकलाई केही राहत पुग्ने विश्वास उनले व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्य तथा शिक्षक विक्रमराज विष्ट, एकेडेमिक कोर्डिनेटर यमका सुवेदीलगायत शिक्षक तथा कर्मचारी र स्टुडेन्ट काउन्सिलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । प्रभात मेमोरियल हाई स्कुलले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा मात्र नभई विपद् तथा मानवीय सङ्कटका समयमा समेत आफ्नो तर्फबाट सहयोग र सहकार्य गर्दै आएको जनाएको छ ।

सिद्धार्थ विद्या सदन स्कुलको सहयोग 

त्यसैगरि,  नेपालगन्ज–६ स्थित सिद्धार्थ विद्या सदन स्कुलले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार ६ सय ५७ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारबाट स्वस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न प्याब्सन बाँकेलाई हस्तान्तरण गरेको हो ।

विद्यालयका अध्यक्ष धिरज सिंह थापाले सहयोग रकम प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्