पश्चिम नवलपरासी सशस्त्र र प्रहरीको अपरेसन: १ करोड १४ लाख बढीको मोबाइलका सामानसहित गाडी नियन्त्रणमा

शुक्रबार, भदौ २६, २०८३

नवलपरासी ।  पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अपरेसनमा करोडौं रुपैयाँ बढीको अवैध मोबाइलका एसेसरिजसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ।

सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा आज बिहान साढे ४ बजे  भारतबाट अवैध रुपमा ल्याएर  लु ३ च २९३९ नम्बरको गाडीमा लोड गरिएको अवस्थामा विभिन्न सामान बरामद  परेको सशस्त्र प्रहरी बल नं.२६ गणले जनाएको छ।

सशस्त्र प्रहरी बल नं.२६ गणका अनुसार सशस्त्र प्रहरीको बीओपी भुजहवा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त टोली उक्त सामानसहित गाडी नियन्त्रणमा लिएको हो।

बरामद सामानमा सेतो रङका १ हजार ७५५ थान एयरपड्स, कालो रङका ५३९ थान एयरपड्स, कालो रङका ३९ हजार ८०० थान टेम्पर ग्लास, सेतो रङका ४ हजार ५०० थान टेम्पर ग्लास र ९३० थान मोबाइल कभर रहेका छन्। त्यसैगरी एक बोरा प्लास्टिकसमेत बरामद भएको सशस्त्र प्रहरी पश्चिम नवलपरासीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीक  अनुसार बरामद गरिएका सामानको अन्दाजी मूल्य ९४ लाख ८४ हजार रुपैयाँ रहेको छ भने पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ गरी कुल अन्दाजी मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नं.२६ गण नवलपरासीले जनाएको छ।

बरामद गाडी र सामानलाई आवश्यक कारबाहीका लागि  भन्सार कार्यालय बुझाउने प्रक्रियाका लागि  महेशपुरमा ल्याएर राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह