सशस्त्र प्रहरीले खुलायो ६ सय ६६ जनाका लागि आवेदन (सूचनासहित)

शुक्रबार, भदौ २६, २०८३

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न रिक्त पदमा नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सूचना प्रकाशित गर्दै साधारण समूहअन्तर्गत खुला प्रतियोगिताबाट ६६६ जनाको पदपूर्ति गर्न आवेदन माग गरेको हो।

भर्नामार्फत ६०४ जना सशस्त्र प्रहरी जवान छनोट गरिनेछ। जवान पदमा खुलातर्फ ३२६, आदिवासीरजनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ।

त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर नियुक्त गरिने भएको छ। जसमा भान्छे ३८, कूचिकार ८, केशकर्तक ७, सूचिकार ६, चर्मकर्मी २ र माली पदमा १ जना रहेका छन्। परिचर पदमा पनि खुला तथा समावेशी समूहअनुसार पद विभाजन गरिएको छ।

भर्नामा सहभागी हुन इच्छुकले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउन सक्नेछन्। अनलाइनबाट आवेदन फाराम भरेका उम्मेदवारले भने आफूले आवेदनका क्रममा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भएर सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।

सशस्त्र प्रहरी बलका अनुसार उम्मेदवारको प्रारम्भिक शारीरिक परीक्षणसम्बन्धी तालिका कात्तिक १३ गते सार्वजनिक गरिनेछ। उक्त तालिका सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत प्रकाशन गरिने प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह