सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको हो।
प्रहरीका अनुसार स्वस्तिका र उनकी छोरी कर्णाली प्रदेश ०२००१ ख १०७० नम्बरको यात्रुवाहक फोर्स गाडीमा सवार थिए। मुसिकोट खलंगाबाट सुर्खेत हुँदै गुल्मीस्थित घर फर्किने क्रममा शान्दिकाले शौच गर्न भनेपछि गाडी रोकिएको थियो। त्यसपछि आमा छोरी सडकमा ओर्लिएका थिए।
सोही क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको भे १ ज १४८२ नम्बरको ईभी गाडीले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्ले लगिएको थियो। उनीहरूको आइतबार बिहान करिब साढे ९ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झबेन्द्र परियारले जानकारी दिए।
स्वस्तिका श्रीमान् घनश्याम ज्ञवालीलाई भेट्न मुसिकोट खलंगा पुगेकी थिइन्। घनश्याम त्यहाँस्थित सनराइज बैंकमा कार्यरत छन्। श्रीमानलाई भेटेर छोरीसहित गुल्मीस्थित घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। दुर्घटनामा संलग्न ईभी गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।