सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । पछिल्लो चार महिनाको अवधिमा देशभर पाँच हजारभन्दा बढी विपद्का घटना भएका छन् । ती घटनामा परी २५० जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि भदौ ५ गतेसम्म देशभर कुल पाँच हजार १४ वटा विपद्का घटना भएका हुन् । विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । आगलागीका एक हजार १३६ घटना हुँदा पहिरोका एक हजार ११ र सर्पदंशका एक हजार १० घटना भएका छन् ।
त्यस्तै, हावाहुरीका ४८०, भारी वर्षाका ३२०, बाढीका २७३ र चट्याङका २४५ घटना भएका छन् । जनावरको आक्रमणका २७२, वन डढेलोका १९१, लेक लाग्ने ५९, भूकम्पका चार, असिनाका चार तथा हिमपहिरोका दुई घटना भएका छन् ।
भदौ ५ गते बिहान ११ बजेसम्म अद्यावधिक गरिएको विवरणमा डुङ्गा पल्टिने र विस्फोटनका एक–एक घटना पनि उल्लेख छन्।
यसैबीच, भदौ ४ गतेदेखि भदौ ५ गते बिहान ८ बजेसम्म मात्रै देशका विभिन्न स्थानमा ३३ वटा विपद्का घटना भएका छन् । उक्त अवधिमा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् । विपद्का घटनाबाट १४५ जना प्रभावित भएको प्राधिकरणले जनाएको छ।
सोही अवधिमा विपद्का कारण अनुमानित नौ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने दुई स्थानमा सडक अवरुद्ध भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
प्राधिकरणका अनुसार पछिल्लो समय आगलागी, पहिरो, सर्पदंश, बाढी तथा भारी वर्षालगायतका विपद्का घटना निरन्तर भइरहेका छन् । विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता आवश्यक रहेको देखिएको छ ।