वर्षा र पहिराले देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्रा गर्नुअघि सतर्कता अपनाउन आग्रह

आइतबार, साउन २४, २०८३

काठमाडौँ । वर्षा, पहिरो, सडक भासिएका र कटानका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायतका स्थानमा यातायात सेवा प्रभावित बनेको छ।

संभावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म मात्र सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। 

त्यसैगरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएर यातायात पूर्ण रूपमा अवरुद्ध भए तापनि त्यस क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्नुका साथै वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा समेत यो राजमार्ग अवरुद्ध छ। 

यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो गएका कारण भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकखण्ड र तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक पहिराले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन्।

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको उच्च जोखिम कायम रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको ताजा अवस्थाबारे जानकारी लिन प्रहरीले सर्वसाधारणमा विशेष आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  ०८:०७
प्रतिक्रिया दिनुहोस्