नेपालगञ्जमा म्याद गुज्रेका सामान राखेको पाइएपछि १ लाख जरिवाना

बुधबार, साउन २०, २०८३

नेपालगञ्ज । नेपालगञ्जमा संयुक्त बजार अनुगमनलाई सघन बनाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सञ्चालन गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि दुई व्यवसायीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा संयुक्त बजार अनुगमन समिति संयोजक महेश कुमार गुरुङका अनुसार नेपालगञ्ज–१२ स्थित वेष्टर्न मार्ट प्रालि र नेपालगञ्ज–१ धम्बोझीस्थित बर्दिया सप्लायर्समा ठूलो मात्रामा म्याद गुज्रेका सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा बर्दिया सप्लायर्सबाट सञ्चालकको रोहबरमा ३३ हजार २ सय ३७ रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको छ । त्यसैगरी, वेष्टर्न मार्टबाट २३ हजार ३ सय १३ रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री नष्ट गरिएको संयोजक गुरुङले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा मूल्यसूची नराखेको, मूल्यसूची अद्यावधिक नगरेको, सामग्री व्यवस्थापनमा कमजोरी देखिएको लगायतका कैफियत समेत भेटिएका छन् । यस्ता कमजोरी सच्याउन सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा सचेत गराइएको पनि उनले बताए ।

यसअघि मंगलबार गरिएको अनुगमनका क्रममा कृत्रिम रङ मिसाइएको मासको दाल फेला परेपछि नष्ट गरिएको थियो । साथै, कर बीजक नराखी कारोबार गर्ने डिस्ट्रिब्युटर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थियो । 

संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्