लुम्बिनी सीमामा डीआईजी अधिकारीको ‘एक्सन इफेक्ट’, सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी आक्रामक

शुक्रबार, साउन ८, २०८३

काठमाडौं  । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा, लुम्बिनी प्रदेशका बाहिनीपति डीआईजी दीपक अधिकारीको ‘एक्सन प्लान’पछि लुम्बिनी प्रदेशभरका सीमा नाकामा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ।  सीमा सुरक्षा, अवैध चोरीपैठारी नियन्त्रण, लागूऔषध कारोबारविरुद्ध कारबाही, सीमा अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै मातहतका सबै इकाइलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ।

डीआईजी अधिकारीले नेतृत्व सम्हालेपछि लुम्बिनी प्रदेशको सबैभन्दा पूर्वी जिल्ला पश्चिम नवलपरासीदेखि पश्चिमी जिल्ला बर्दियासम्म रहेका सशस्त्र प्रहरी गण, गुल्म तथा सीमा सुरक्षा पोष्टहरूको स्थलगत निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा उनले सीमा सुरक्षाको अवस्था, जनशक्ति परिचालन तथा सञ्चालन भइरहेका सुरक्षा गतिविधिबारे जानकारी लिँदै सीमा अपराध नियन्त्रणमा थप प्रभावकारी ढंगले परिचालित हुन निर्देशन दिएका हुन्।

उनले सीमापार हुने अवैध चोरीपैठारी, तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सीमा अपराधविरुद्ध कुनै सम्झौता नगरी कडा रूपमा प्रस्तुत हुन मातहतका गणपति तथा इकाइ प्रमुखहरूलाई निर्देशन दिएका छन्। साथै, विपद् उद्धार, खोज तथा राहत कार्यलाई पनि चुस्त र प्रभावकारी बनाउन विशेष जोड दिएका छन्।

डीआईजी अधिकारीको निर्देशनपछि लुम्बिनी प्रदेशका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरीले चेकजाँच, गस्ती र निगरानीलाई थप प्रभावकारी बनाएको छ। सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ भने अवैध चोरीपैठारी तथा तस्करी नियन्त्रणका लागि जनशक्ति परिचालनलाई समेत तीव्र बनाइएको छ।

निरीक्षणका क्रममा उनले राष्ट्रहितविपरीत हुने कुनै पनि गतिविधिप्रति 'शून्य सहनशीलता' को नीति अपनाउनुपर्नेमा जोड दिँदै सीमा सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका थिए। उनले संगठनभित्र अनुशासन, पारदर्शिता र व्यावसायिकतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

डीआईजी अधिकारीले इमान्दारीपूर्वक उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई उचित मूल्यांकनसहित पुरस्कृत गरिने र गलत कार्यमा संलग्न हुने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट सन्देश दिएका छन्।

"राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कारको भागीदार बनाउँछु, तर गलत कार्य गर्नेलाई सबैभन्दा पहिले कारबाही गर्छु," उनले निरीक्षणका क्रममा मातहतका कर्मचारीलाई निर्देशन दिँदै बताएका थिए।

पछिल्लो समय लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी र चेकजाँचमा कडाइ गरेको विषय विभिन्न सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ। सीमा क्षेत्रमा बढाइएको सक्रियताले अवैध चोरीपैठारी, तस्करी, लागूऔषध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रणमा थप प्रभावकारी नतिजा आउने अपेक्षा गरिएको छ।

खुला सीमाका कारण देखिने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै डीआईजी अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेशले सीमा सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अभियानलाई निरन्तरता दिएको छ। "अर्को अर्थमा डीआईजी अधिकारीको एक्सन इफेक्ट’, कै कारण तस्करीविरुद्ध सशस्त्र प्रहरी आक्रामक भएको स्पष्ट देखिएको छ।"

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्