भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण

मंगलबार, असार ३०, २०८३

काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर पुनः १४..२ केजी एलपी ग्यास भरिएका सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।

निगमले मंगलबार  विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्थामा सुधार आएको र बजारमा १४.२ केजी ग्यासको माग उच्च रहेकाले साविककै परिमाणको ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको जनाएको छ ।

निगमका अनुसार  १४.२ केजी एलपी ग्यास भरिएको एक सिलिन्डरको उपभोक्ता मूल्य रु. २ हजार ६० कायम रहनेछ।

यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी ग्यास भरिएका सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो। आयल निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने भएकाले उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।

साथै, भारतीय आयल कर्पोरेशनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि निगमले उपभोक्तासँग अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्