सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । सशस्त्र प्रहरी बल, नेपालको बाँकेस्थित बिओपी साईगाउँले केही दिनको अवधिमा ६ लाख ४१ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गर्दै तस्करीविरुद्धको अभियानलाई प्रभावकारी बनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक निरज कार्कीको कमाण्डमा खटिएको टोलीले पचपोखरा सीमा नाकाबाट भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको लत्ताकपडा, तस्करीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल र फुलसहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।
कारबाहीअन्तर्गत सोमबार साँझ १ लाख १० हजार रुपैयाँ बराबरको एउटा मोटरसाइकल र फुल बरामद गरिएको थियो। त्यसअघि आइतबार ३ लाख रुपैयाँ बराबरका २ सय पिस लेडिज कुर्ता–सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी शनिबार २ लाख ३१ हजार रुपैयाँ बराबरका ९ रोल सुट–पेन्ट, ११ रोल सर्टको कपडा तथा एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो। सोही क्रममा अवैध तस्करीमा संलग्न एक जनालाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।
बरामद गरिएका सबै सामान, दुई थान मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।