राप्ती नदीमा डुबेका दुई बालबालिका: सुलभ मृत फेला, खुशीको खोजीमा सशस्त्र प्रहरी

आइतबार, असार २८, २०८३

बाँके । बाँकेको  राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ।

सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ का गोबिन्द सिजापतिकी ११ वर्षीया छोरी खुशी सिजापति र सोही स्थानका विकास रावतका ९ वर्षीय छोरा सुलभ रावत शनिबार साँझ करिब ५ बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। प्रारम्भिक जानकारीअनुसार पौडी खेल्ने क्रममा सुलभ डुब्न थालेपछि उनलाई बचाउन गएकी खुशी पनि नदीले बगाएको बुझिएको छ।

दुवै बालबालिका शनिबार साँझ करिब साढे ४ बजे घरबाट निस्किएका थिए। उनीहरू डुबेको घटनाबारे एक भैंसी गोठालाले राति करिब ८ बजे परिवारलाई जानकारी दिएका थिए। त्यसपछि पीडित परिवार र स्थानीयले राति १० बजे मात्र सशस्त्र प्रहरीको अस्थायी मनसुन सुरक्षा बेस कुण्डा फत्तेपुरलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा ११ सदस्यीय विपद् व्यवस्थापन टोली मोटर बोटसहित घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरीको टोलीले शनिबार रातिदेखि आइतबार बिहान १ बजेसम्म स्थानीय, पीडित परिवार र नेपाल प्रहरीसँग समन्वय गरी राप्ती नदीमा व्यापक खोजी गरेको भए पनि दुवै बालबालिका फेला परेका थिएनन्।

आइतबार बिहान पुनः नायब निरीक्षक पुनको कमाण्डकै सोही टोली बिहान ५ बजेदेखि मोटर बोटसहित खोजीमा खटिएको थियो। खोजीका क्रममा ९ वर्षीय सुलभ रावतको शव पौडी खेल्दा डुबेको स्थानबाट करिब ५ सय मिटर तल तथा सिधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ आज बिहान ७:५० बजे फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सुलभको शव आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार ११ वर्षीया खुशी सिजापतिको खोजी भने अझै जारी रहेको छ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्