सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ।
कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक–२०८३, नयाँ कर व्यवस्था, करदातालाई उपलब्ध छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र कर सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुति दिएका थिए। प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको उनले जवाफ दिएका थिए।
केसीले आर्थिक विधेयक–२०८३ मार्फत अहिलेसम्मकै बढी छुट र सहुलियतको व्यवस्था गरिएको उल्लेख गर्दै करदातालाई समयमै आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी उपलब्ध सुविधाको लाभ लिन आग्रह गरे। उनले कर सम्बन्धी सही सूचना आम नागरिकसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए।
प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कर प्रशासनलाई पारदर्शी, सरल र सेवामैत्री बनाउने दिशामा कार्यालय निरन्तर लागिपरेको बताए। कर सम्बन्धी भ्रम हटाउन, कर सचेतना बढाउन तथा तथ्यपरक सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया उपयोगी भएको बताए। उनले कर नीति तथा आर्थिक विषयलाई सरल, तथ्यपरक र जिम्मेवार ढंगले आम नागरिकसम्म पुर्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।
उनले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गत वर्ष पनि नेपाल पत्रकार महासंघ बाँके शाखासँगको समन्वयमा यस्तै कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।