बजेटको असर: सुनको प्रतितोला मूल्य २० हजार ५०० रुपैयाँले बढ्यो

आइतबार, जेठ १७, २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्ने भन्सार दर १० प्रतिशतले बढाइएपछि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २० हजार ५०० रुपैयाँले बढी हो।

यसअघि जेठ १५ गते छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ६६ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम भएको छ, जबकि जेठ १५ गते यसको मूल्य ५ हजार ४० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ। भन्सार दर वृद्धिपछि बजारमा सुनचाँदीको मूल्यमा तत्काल प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्